‘परान’ फिल्मको १ लाख रुपैयाँ पुरस्कार घोषणा, यस्तो छ सहभागिताको नियम


काठमाडौँ । आगामी कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित फिल्म ‘परान’ ले दर्शकमाझ विशेष ‘मेरो परान’ प्रतियोगिता सार्वजनिक गर्दै १ लाख रुपैयाँको आकर्षक पुरस्कार घोषणा गरेको छ।

निर्माण टिमका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा सबैभन्दा प्रिय व्यक्ति — आमा, बुबा, दुवै, श्रीमान–श्रीमती, प्रेमी–प्रेमिका, दाजुभाइ, दिदीबहिनी वा साथी मध्ये जसलाई आफ्नो ‘परान’ सम्झिन्छन्, उनीसँगको तस्वीर फेसबुकमा पोस्ट गरी क्याप्सनमा ‘मेरो परान’ लेख्नुपर्नेछ। साथै, पोस्टमा फिल्मको अफिसियल फेसबुक पेज ट्याग गर्नुपर्ने जनाइएको छ।

भित्रिएको सबै सहभागीमध्ये लक्की ड्रमार्फत १ जनाले १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् भने १०० जनाले फिल्मको विशेष शोको टिकट प्राप्त गर्नेछन्।

अर्को अफर : कलाकारसँगै फिल्म हेर्ने मौका

फिल्म प्रचारका क्रममा स्वयंसवक टोली शहरका विभिन्न स्थानमा QR कोडसहित उपस्थित हुनेछन्। QR स्क्यान गरी फिल्मको ट्रेलर वा गीत शेयर गर्ने ५० जना दर्शकले कलाकारसँगै फिल्म हेर्ने अवसर पाउने निर्माण टिमले जनाएको छ।

दुवै प्रतियोगितामा कार्तिक २० गतेसम्म सहभागिता जनाउन सकिनेछ।

किन विशेष मानिएको छ ‘परान’?

गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाको प्रत्यक्ष सहभागिता र प्रिज्मा एडभर्टाइजिङका प्रमुख रन्जित आचार्यको लगानी भएकाले पनि फिल्मलाई नेपाली फिल्म बजारले विशेष चासोका साथ हेरेको छ।

बुबा–छोराको भावनात्मक सम्बन्धमा केन्द्रीत फिल्ममा वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा छन्। ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो उनको डेब्यु निर्देशन हो।

हालै सार्वजनिक ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ। फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योंगहाङ, बबिन राई लगायतका कलाकारको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.