‘वरिष्ठ बलराम’ले कमायो दर्शकको मन, दोस्रो दिन पनि देशभर हाउसफूल




काठमाडौं ।
तिहारको भाइटीकाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले रिलिजको दुई दिनमै सिनेमा हलहरूमा उल्लेखनीय सफलता हात पारेको छ। दयाहाङ राई र विजय बराल अभिनीत यस फिल्मले पहिलो दिनदेखि नै देशभरका दर्शकबाट आक्रामक साथ पाएको निर्माण टिमले जनाएको छ।

निर्माताका अनुसार चलचित्रले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गर्‍यो, राजधानीसँगै बाहिरी सहरहरूमा समेत टिकट काउन्टरमा उल्लेख्य भीड देखियो। आज शुक्रबारको व्यापार अझ सुदृढ भएपछि धेरै हलहरूले अतिरिक्त शोसमेत थपेका छन्।

निर्माता आशिष एच तामाङ भन्छन्, “पहिलो दिन बिहानैदेखि धेरै शो हाउसफूल थिए। दोस्रो दिन पनि दर्शकको उपस्थिती उच्च रह्यो। वर्ड अफ माउथ अत्यन्तै सकारात्मक छ, जुन हाम्रो लागि थप ऊर्जाको स्रोत बनेको छ।”

दर्शकले दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद, कथा प्रस्तुति र मनोरञ्जनको गतिलाई विशेष रूपमा मन पराइरहेका छन्। शुक्रबार बिहानैदेखि टिकट काउन्टरमा देखिएको चहलपहलले यसको लोकप्रियता प्रष्ट झल्काएको छ। चलचित्र हेरेर निस्किएका धेरैले मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको ‘माटोको कथा’ भनेर प्रतिक्रिया दिएका छन्।

सकारात्मक समीक्षाले उत्साहित निर्माणपक्ष चलचित्रको कलेक्सनप्रति आशावादी छ। निर्माता तामाङ भन्छन्, “दर्शकको माया र प्रतिक्रियाले फिल्म लामो समय हलमा टिक्ने विश्वासलाई अझ बलियो बनाइदिएको छ।”

सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको हो। फिल्ममा दयाहाङ राई, विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) को अभिनय रहेको छ।

फिल्मको कथा र सम्पादन निर्देशक पौडेलले स्वयं गरेका हुन् भने पटकथा महेश दवाडीको हो। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्। कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे, लाइन प्रोड्युसरमा राम विष्ट छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.