हलमा ‘वरिष्ठ बलराम’, दर्शकबाट सकारात्मक प्रतिक्रिया


काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजदेखि दयाहाङ राई र विजय बराल अभिनीत नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । रिलिजको पहिलो दिनै फिल्मले दर्शक उपस्थितिदेखि लिएर प्रतिक्रियासम्म उत्साहजनक सुरुवात गरेको छ ।

आज बिहानैदेखि दर्शक उल्लेख्य संख्यामा हल पुगेका थिए । दयाहाङ र विजयको टक–कन्टक र कथा प्रस्तुतिले पहिलो शोबाटै सकारात्मक प्रतिक्रिया बटुलेको निर्माणपक्षको दाबी छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै बलियो सामाजिक सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

फिल्मले प्राकृतिक स्रोतको दोहन, माटोप्रेम र स्थानीयताको मुद्दा उठान गरेको दर्शकको टिप्पणी रहेको छ । ‘माटो सुहाउँदो कथा’ भनेर धेरैले प्रशंसा गरेका छन् ।

सुरुवातमै राम्रो वर्ड–अफ–माउथ पाएको भन्दै निर्माणपक्ष फिल्मको व्यापारप्रति आशावादी देखिएको छ । विजय बराललगायत कलाकारले आज रिलिज डे मै हल–हलमा गएर दर्शकसँग भेटघाट समेत गरेका छन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको हो । फिल्ममा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन् ।

फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्माता प्रदीप जी. धामी र पुस्कर बी. घिमिरे रहेका छन् । ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.