काठमाडौं । सौगात मल्ल स्टारर सिनेमा ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज डेट अनाउन्स गरेको छ । अब यो चलचित्र माघ १ गते रिलिज हुनेछ । पोस्टरमा चलचित्रका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।
सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत आज सार्वजनिक हुँदैछ ।
पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ । फलोइङ फर यू लेखिएको छ र मोबाइलको फ्रेमभित्र रहेका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ ।
निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको सिनेमा हो ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।