फिल्म ‘परान’ को ‘पोएटिक टिजर’ सार्वजनिक


काठमाडौं । आगामी कार्तिक १४ गते प्रदर्शन हुने फिल्म ‘परान’ ले वरिष्ठ कलाकार निर शाह को जन्मदिनको अवसर पारेर ‘पोएटिक टिजर’ सार्वजनिक गरेको छ ।

बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको फिल्मको टिजरमा कवि नवराज पराजुली को शब्द र उनकै आवाजलाई प्रस्तुत गरिएको छ । टिजरमा निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।

ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक टिजरले फिल्ममा बाबु-छोराको सम्बन्धको कथा रहेको संकेत गर्छ । कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोराबाट जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरिएको सुन्न सकिन्छ ।

कवितामा छोरालाई ‘ईश्वरले दिएको उपहार’ मान्दै, जसरी बाबुले छोरालाई हुर्काउँछ, त्यसरी नै छोराले पनि अन्तिम समयसम्म बाबुलाई साथ दिनुपर्ने भाव व्यक्त भएको छ । पराजुलीको कविताका मार्मिक पङ्क्तिहरू यस प्रकार छन्:
“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।

ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए,
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।”

टिजरमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द र अन्जना बराइली लगायतका कलाकारहरूलाई पनि प्रस्तुत गरिएको छ । टिजरको प्रस्तुतिले फिल्मले पारिवारिक दर्शकलाई लक्षित गरेको प्रस्ट हुन्छ ।

‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशन रहेको यस फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्ममा रिदम कँडेलको संगीत, शिवराम श्रेष्ठको डीओपी र मित्र डि. गुरुङको सम्पादन रहेको छ । देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूह को साझेदारीमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालि ले यस फिल्मको निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.