काठमाडौं । नेपाली चलचित्रले बुधबार आफ्नो ६० औं वर्षगाँठ मनाएको छ । सन् १९६४ (वि.सं. २०२२ असोज १५) मा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको दिनलाई आधार मानेर यो गणना गरिएको हो । यही मितिलाई स्मरण गर्दै सरकारले असार १३ गतेको मन्त्रिपरिषद् बैठकमार्फत असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो।
नेपाली चलचित्र इतिहासलाई लिएर पहिले ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’बीच पहिलो फिल्म कुन भन्ने विवाद थियो, तर सरकारले ‘आमा’ नै पहिलो नेपाली फिल्म हो भन्ने औपचारिक मान्यता दिएको थियो ।
६ दशकको यात्रामा नेपाली चलचित्रले राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव भोग्यो—पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, माओवादी द्वन्द्वदेखि डिजिटल क्रान्तिसम्म ।
सन् १९७९ (वि.सं. २०३६) पछिको समयलाई नेपाली चलचित्रको स्वर्णकाल मानिन्छ। त्यतिबेला ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘कान्छी’, ‘वासुदेव’, ‘साइनो’ जस्ता चर्चित फिल्म बने, जसले नेपाली समाजमा चलचित्रलाई सशक्त अभिव्यक्तिको माध्यम बनाए ।
वि.सं. २०६३ पछि शान्ति स्थापनासँगै फिल्म उद्योगले नयाँ गति लियो। निर्माणसंख्या बढ्यो, बजार विस्तार भयो र प्राविधिक सुधारले नयाँ सम्भावनाहरू खोले। यही क्रममा ‘लुट’ ले नेपाली फिल्मको कथा र शैलीमा टर्निङ्ग पोइन्ट ल्यायो, जसपछि नेपाली फिल्मले डायस्पोरासम्म आफ्नो प्रभाव विस्तार गर्न थाल्यो ।
हालसम्मको सबैभन्दा ठूलो व्यावसायिक सफलता भने ‘पूर्णबहादुरको सारंगी’ ले पाएको छ । यसले ४६ करोड रुपैयाँभन्दा बढी ग्रस गर्दै इतिहास रच्यो । आज वर्षमा करिब १०० भन्दा बढी फिल्म रिलिज हुने गर्छन् ।
नेपाली चलचित्रको यात्रा निर्माणभन्दा पहिले प्रदर्शनसँग सुरु भएको थियो भारतीय फिल्मको प्रदर्शनमार्फत। तर आज नेपाल विश्वकै फिल्म प्रदर्शन हुने देशहरूको सूचीमा उभिएको छ। अहिले त नेपाली फिल्म एकैपटक नेपाल र विदेशमा समेत रिलिज हुन थालेका छन् । नयाँ पुस्ता फिल्म निर्माणमा आएकाले सोच र शैली दुवै ताजा बनेका छन् ।
तर एआईको तीव्र विकास, बजारको प्रतिस्पर्धा र विश्वव्यापीकरणका चुनौतीबीच आगामी ६० वर्ष नेपाली फिल्म कहाँ पुग्छ, त्यो भने अझै भविष्यले देखाउनेछ ।