काठमाडौं। यस वर्षको दसैंको अवसर पारेर असोज १३ गते अर्थात फूलपाती आजको दिनदेखि तीन नयाँ चलचित्र ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन्।
तीनै फिल्ममध्ये ‘बलिदान’ ले सर्वाधिक शो पाएको छ भने ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ले पनि समान रुपमा उल्लेख्य संख्यामा शो पाएका छन्।
सेन्सर बोर्डको प्रमाणपत्र अनुसार ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ले यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेका छन्, जसकारण यी दुवै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्। यता ‘बलिदान’ ले भने पिजी सर्टिफिकेट पाएको छ, जसअनुसार १६ वर्ष मुनिका दर्शकले अभिभावकसहित मात्र फिल्म हेर्न सक्नेछन्।
लम्बाइको हिसाबले हेर्ने हो भने दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ सबैभन्दा लामो फिल्म भएको छ, जसको रन टाइम २ घण्टा २१ मिनेट ४० सेकेण्ड रहेको छ। फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा लगायत दर्जनौं चर्चित कलाकारको अभिनय रहेको छ।
रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ २ घण्टा ७ मिनेट लामो छ। यसमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङलगायत कलाकार देखिएका छन्।
त्यस्तै, सन्तोष सेनले निर्देशन गरेको ‘बलिदान’ २ घण्टा ४ मिनेट लामो छ। फिल्ममा सौगात मल्ल, अर्पण थापा, समीर भट्ट, ऋचा शर्मा, कविता राय लगायत कलाकारले अभिनय गरेका छन्।