चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक


काठमाडौँ। आउँदो दशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले नयाँ गीत सार्वजनिक गरेको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ शीर्षकको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ सुन्न पाइन्छ। गीत ओएस डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतसहितको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत र वर्षा राउत लगायतका कलाकार फिचर भएका छन्। चलचित्रको कथासँग मेल खाने भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् भने कृष्ण बहादुर थापाले खिचेका र नकुल खड्काले सम्पादन गरेका हुन्।

दिपेन्द्र के. खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपालसहित थुप्रै कलाकारको अभिनय छ।

एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सुन्न सकिन्छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.