मंसिर १२ मा प्रदर्शन हुने फिल्म ‘हर्ष’को गीत ‘सिठ्ठी मार’ सार्वजनिक


काठमाडौं। मंसिर १२ गते प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो।

एलिश कार्कीको संगीतमा तयार भएको गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर छ भने पवित्रा घिमिरेको शब्दरचना रहेको छ। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् भने आलोक शुक्लाले छायांकन गरेका छन्।

फिल्मका अधिकांश कलाकार फिचर गरिएको भिडियोमा पारिवारिक जमघटको रमाइलो माहोल प्रस्तुत गरिएको छ। गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ र लुनिभा तुलाधर देख्न सकिन्छ।

निर्माण पक्षले यस गीतलाई नेपालीहरूको हरेक खुशीका जमघटको प्रिय नृत्यगीत बन्ने विश्वास व्यक्त गरेको छ। फिल्मलाई प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन्।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, माओत्से गुरुङ, निमा पाण्डे, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय रहेको छ। अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्।

दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जीसमेत रहेकी पौडेलले यस फिल्ममार्फत स्व. रेग्मीको विरासतलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। फिल्मको सम्पूर्ण छायांकन चितवनमा गरिएको हो भने हाल पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ।

फिल्ममा समीर र हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ। स्व. शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काले शब्द लेखेका छन्।

गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार बुढासुब्बा डिजिटलले खरिद गरेको छ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.