‘हरिबहादुरको जुत्ता’ : जेनजी आन्दोलनको प्रतिध्वनि झल्काउने चलचित्र


काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफ्नो नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई नेपालको वर्तमान राजनीतिक यथार्थ, विकृति र कुशासनविरुद्ध उठाइएको कलात्मक रचनात्मक अभियानका रूपमा व्याख्या गरेका छन्। असोज १३ गते फूलपातीको दिनबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रलाई उनले “सामाजिक परिवर्तनतर्फको वैचारिक कदम” को रूपमा चित्रण गरेका हुन्।

हालै सम्पन्न जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्य र सुशासनको नारा बोकेको थियो। त्यस क्रममा ७३ जनाले प्राण गुमाएका थिए भने आन्दोलनकै प्रतीक बनेको रगतले रन्किएको जुत्ताले नयाँ पुस्तामा विद्रोहको आवाज जगाएको थियो।

चलचित्रमा पनि जुत्तालाई आशा, विद्रोह र परिवर्तनको प्रतीकसँग गाँसिएको छ। जसरी आन्दोलनमा युवाले सुशासनको सपना बोके, त्यसैगरी ‘हरिबहादुरको जुत्ता’ ले पनि राजनीति भित्रका बेथिति र विसंगतिहरूमाथि प्रश्न उठाउँदै नयाँ पुस्तालाई सक्रियतापूर्वक अघि बढ्न प्रेरित गर्ने सन्देश दिन खोजेको छ।

आचार्यका अनुसार चलचित्र र आन्दोलनबीच देखिएको समानता संयोग मात्र हो। उनले भने, “हामीले एक वर्षअघि नै यस्तो कथा बनाएका थियौँ। सडकमा उठेको स्वर जस्तै हलभित्रको हाम्रो आवाज पनि समाज रूपान्तरणकै लागि हो।”

हरिवंश आचार्य ‘हरिबहादुर’ पात्रमार्फत १६ वर्षअघि नै नेपाली समाजमा हाँस्य र सचेतना ल्याउने काम गरिसकेका थिए। त्यही चर्चित पात्रलाई यसपटक निर्देशक दिपेन्द्र के. खनालले चलचित्रको माध्यमबाट पुनः प्रस्तुत गरेका हुन्।

चलचित्रमा आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी,सिता लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् भने कथा स्वयं हरिवंश आचार्यले लेखेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.