काठमाडौँ। दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । पारिवारिक कथा बनेको चलचित्रलाई मिलन तामाङले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशन हो। चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् । रामशरण पाठकको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ ।चलचित्रका सह–सम्पादक अंकित तिवारी हुन् ।
रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ । चलचित्रले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको चलचित्रमा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ ।