काठमाडौं । गत भदौ २० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रिमै’ सोमबारबाट हल सञ्चालनमा आएसँगै प्रदर्शनमा आउने भएको छ । भदौ २३ गते सोमबारसम्म निरन्तर प्रदर्शनरत सिनेमा नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण स्थगित भएको थियो ।
दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र देशमा एक्कासी चर्किएको जेनजी आन्दोलनको मारमा परेको थियो । जसको प्रत्यक्ष असर चलचित्रको बक्सअफिसमा देखिने भएपछि निर्माण टिमले देशको अवस्थालाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरेको थियो ।
अहिले पनि देशको अवस्था पूर्ण रुपमा सामान्य अवस्थामा फर्कि नसकेपनि विस्तारै सिनेमा क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित हल सञ्चालमा आएसँगै ‘रिमै’को प्रदर्शनलाई निरन्तरता दिन लागिएको निर्देशक खिल बहादुर गुरुङले बताए । देश र समाजमा परेको चोटलाई महल्म लगाउँदै हलमा सिनेमा हेर्न फर्किने विश्वास निर्माण टिमलाई छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।