नेपाली चलचित्रमा “बिहारिबाद” को सुरूवात


तस्विर लेखको लागी अआइको सहयोगमा बनाइएको हो

नेपाली चलचित्रले सिर्जनात्मक संघर्ष मात्रै गरिरहेको छैन, पछिल्लो दशकमा यसले अर्को नयाँ चुनौती पनि भोग्न थालेको छ—चलचित्र प्रदर्शनको समयमा हुने लफडा र दादागिरी। विशेषगरी चलचित्र प्रदर्शनको मिति तोक्ने तथा प्रदर्शनको समयमा चलचित्रसँगै आएको गुण्डा संस्कृति “बिहारिबाद” भोजपुरी सिनेमाबाट आयात भएको गुण्डागर्दी शैलीकै कारण अहिले नेपाली फिल्म उद्योगमाथि गहिरो प्रभाव पर्न थालेको छ।

भारतको बिहार तथा उत्तरप्रदेशको भोजपुरी चलचित्र उद्योगसँगै गुण्डा संस्कृति पनि गाँसिएको छ। प्रोड्युसर, डिस्ट्रीब्युटरदेखि कलाकारसम्म आफूलाई शक्तिशाली देखाउन बन्दुक, धम्की र दादागिरीको चलन त्यहाँ सामान्य छ। जब यस्ता फिल्म नेपालका सीमावर्ती हलमा आए, त्यससँगै हल मालिकलाई धम्क्याउने, समकक्षी प्रदर्शित चलचित्रको शो काट्ने र आफ्नो शो थप्न दबाब दिने, साथै भोजपुरी चलचित्र प्रदर्शन नगरे सिनेमा हल नै बन्द गराइदिन्छौं भन्ने चेतावनीदेखि लिएर नेपाली चलचित्रको शो कटौती गर्ने प्रवृत्ति हुँदै नेपाली चलचित्र प्रदर्शन प्रणालीमै “बिहारिबाद” प्रवेश गर्‍यो।

परिणामस्वरूप नेपालमा पनि कतिपय वितरक वा निर्माताहरूले भोजपुरिया शैलीको दबाब–राजनीति अपनाउन थाले। चलचित्र प्रदर्शन नपाएको आरोपमा हल तोडफोड, प्रदर्शन मिति परिवर्तनका लागि खुलेआम सामाजिक सञ्जालमा धम्की, प्रतिस्पर्धी चलचित्रको पोस्टर च्यात्ने, उद्घाटन शोमा गुण्डा परिचालन गर्ने—यी दृश्यहरू अब सामान्यजस्तै देखिन थाले। कुनै समय काठमाडौंको मुटु जमलस्थित बिश्वज्योति सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न चलचित्र निर्मातालाई फलामको चिउरा चपाउनभन्दा कठिन र चुनौतीपूर्ण थियो। यसरी नेपाली फिल्म क्षेत्र, जसले सिर्जनात्मक प्रतिस्पर्धा र दर्शकको रोजाइलाई नै मूल मन्त्र मानेर आफ्नो सिर्जनामा केन्द्रित रहि चलचित्रका विशेष तथा महत्वपूर्ण प्राविधिक कार्यमा जुटेर आफ्नो सिर्जनात्मक कोसेली तयार गर्नु पर्ने समयमा, काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भनेजस्तै, धम्की र दादागिरीको भड्किलो संस्कृतितर्फ उन्मुख हुन थाल्यो।

पछिल्लो समय नेपाली चलचित्र उद्योगमा सिर्जनात्मक प्रतिस्पर्धाभन्दा बाहुबलको खेल बढ्दै गएको छ। चलचित्र प्रदर्शनको क्रममा हलमा आफ्नै चलचित्रलाई अगाडि ल्याउनका लागि केही निर्माताले अपनाउने अनैतिक अभ्यासले उद्योग नै बदनाम बन्दै गएको छ। स्रोतका अनुसार, आफूसँगै प्रदर्शनमा आएका अन्य चलचित्रका नियमित शो तोडफोड गर्न गुण्डा पठाउने, हलमा हुल हुज्जत मच्चाउने, र पोस्टरको आकार–आकृति लिएर हल मालिकलाई दुर्ब्यवहार गर्ने घटना बढिरहेका छन्। “मेरो पोस्टर सानो किन? उसको ठूलो किन?” भन्ने बहानामा हल सञ्चालकलाई धम्क्याउने र अपमान गर्ने काम खुलेआम भइरहेको कुरा पनि नयाँ होइन। हल सञ्चालकहरूले पनि यस्ता दबाब स्वीकार गर्नुपर्ने बाध्यता महसुस गरेका छन्। एक हल मालिकले नाम नखुलाउने सर्तमा भने, “चलचित्र चलाउनभन्दा पनि कुन पक्षसँग झगडा नगरी बच्ने भन्ने चिन्ता हुन्छ।”

यो प्रवृत्तिले दुई किसिमका असरहरू पारेको छ

दर्शक स्तरमा: हलमा जाने अनुभव डराउने, झगडा हुने, गुण्डा उपस्थिति हुने ठाउँ बन्न थालेको छ।

निर्माता–कलाकार स्तरमा: सिर्जनात्मक मेहनतभन्दा “कसको पहुँच बलियो” भन्ने कुरा महत्वपूर्ण बन्न थालेको छ।

यदि नेपाली चलचित्र उद्योगले समयमै यस्तो “बिहारिबाद” लाई रोक्न सकेन भने, सिर्जनशील प्रतिस्पर्धाभन्दा बाहुबल र दादागिरीले वर्चस्व जमाउने खतरा अझ बढ्छ। चलचित्र क्षेत्रका जानकारहरू भन्छन्, यस्ता व्यवहारले उद्योगलाई नोक्सान मात्र पुर्‍याउँदैन, सृजनशीलता र दर्शकको रोजाइले होइन, गुण्डागर्दीले निर्धारण गर्ने नजिरको स्थापना हुनेछ। राज्यको कडाइ, हल मालिक र निर्माता बीच निष्पक्ष सम्झौता, र दर्शकलाई सुरक्षित वातावरण उपलब्ध गराउने व्यवस्था—यी कदम नचालिए नेपाली फिल्मको मौलिकता र स्वतन्त्रता दुवै संकटमा पर्नेछन्।

“बिहारिबाद” केवल सीमावर्ती हलहरूमा आएको प्रभाव मात्र होइन, यो नेपाली चलचित्र संस्कृतिमा मौलिक सृजनात्मकताको स्थान कमजोर पार्ने चुनौती पनि हो। नेपाली चलचित्र उद्योगले यसलाई हल्का लफडा नभई गहिरो रोगका रूपमा बुझ्न जरुरी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.