काठमाडौँ। निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ ले प्रदर्शन सुरु गरेलगत्तै अपेक्षित सफलता हासिल गरेको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक तान्न सफल भएको यो चलचित्रले मध्यान्हदेखि भने हाउसफुल प्रदर्शन कायम राख्यो। सो लयलाई निरन्तरता दिँदै शनिबार बिहानैदेखि नै हलहरू हाउसफुल भएको वितरकले जनाएका छन्।
आक्रामक व्यापारसँगै निर्देशक ऋषि लामिछाने, प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटी काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। ‘माग्ने राजा’ हेरेका धेरै दर्शकले चलचित्रको सन्देशले छोएको प्रतिक्रिया दिएका छन्।
मुख्य अभिनेता केदार घिमिरेलाई दर्शकले बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गरेका छन्। यसले दर्शकमाझ उनको लोकप्रियता अझै उच्च रहेको स्पष्ट देखाएको छ। घिमिरेले दर्शकको माया र आशीर्वादले आफूलाई उत्साहित तुल्याएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने जिम्मेवारी थपिएको बताएका छन्।
चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ ले पछिल्लो हिट चलचित्र ‘ऊनको स्विटर’ पछि इनिसियल दर्शक तान्न सफल भएको छ। उनका अनुसार, चलचित्रले प्रमुख हल मात्र नभई चाडबाडमा मात्र हाउसफुल हुने हलमा समेत निरन्तर व्यापार गरेको छ। “तीजको मुख्य बिदा अझै बाँकी छ, त्यसैले चलचित्रले अझ आकर्षक कमाइ गर्ने निश्चित छ,” कट्टेलले भने।
उनका अनुसार, वैशाखमा रिलिज भएको ‘ऊनको स्विटर’ पछि सबभन्दा बलियो व्यापार ‘माग्ने राजा’ कै हो। मंगलबार तीजको बिदा र त्यसपछि महिला दर्शकको फुर्सदलाई ध्यानमा राख्दा चलचित्रले आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ।
निर्देशक ऋषि लामिछाने पनि तीजपछि दर्शक संख्यामा थप वृद्धि हुने विश्वास व्यक्त गर्छन्। उनका अनुसार हाल हलमा महिला दर्शकको उपस्थिति कम भए पनि तीजपछि पारिवारिक दर्शकको सहभागिता बढ्ने छ। “परिवार नै बसेर हेर्न मिल्ने खालको चलचित्र भएकाले तीजपछि हलमा अझै पारिवारिक माहोल बनाउने विश्वास छ,” उनले भने।
मुनाल घिमिरेको निर्माण रहेको ‘माग्ने राजा’ लाई दर्शकले मनोरञ्जन र सन्देश दुवै सन्तुलित रूपमा प्रस्तुत गरिएको भन्दै प्रशंसा गरेका छन्। ‘छक्का पञ्जा’ सिरिजबाहेक पहिलो पटक सोलो अभिनेताको रूपमा अगाडि आएका केदार घिमिरेको कमेडीलाई दर्शकले मन पराएका छन्। साथै, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी र शिशिर वाङदेलको अभिनयले पनि कथालाई थप आकर्षक बनाएको छ।