‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक, सारंगी बजाउँदै हिंडे मुकुन


काठमाडौं।  निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको प्रसिद्ध गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी चलचित्रमा समावेश गरिएको हो।

गायक आशिष अविरलको स्वरमा प्रस्तुत यस गीतमा परदेशिएका नेपालीको जीवन–संघर्ष र पारिवारिक पीडालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड झलकमान गन्धर्वलाई सम्मान स्वरूप गीतलाई पुनः स्वरबद्ध गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको दृश्यमा कलाकार मुकुन भुसाललाई ‘पूर्णबहादुरको सारङ्गी’का वीरे पात्रको रूपमा प्रस्तुत गरिएको छ। साथै बालकलाकार अर्नव खड्काको पनि अभिनय देख्न सकिन्छ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ। नरदेवी फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठ र सम्पादन नहकुल खड्काले गरेका हुन्।

‘कोशेढुंगा’ भदौ १२ गते नेपालसहित ४२ भन्दा बढी मुलुकमा एकैपटक प्रदर्शन हुने भएको छ। पहिलो पटक नेपाली चलचित्र यति धेरै मुलुकमा एकैसाथ प्रदर्शन हुन लागेकाले यसलाई नेपाली सिनेमाको लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.