बिपिन, केकी र गरिमाको अभिनयमा ‘काजी’, शुभमुहूर्तपछि भदौ ८ गतेदेखि छायांकन


काठमाडौँ। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ नेपाली सिनेमा ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासहित शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ।

निर्देशक रिजालले भदौ ८ गते आइतबारदेखि औपचारिक छायांकन सुरु हुने जनाएका छन्। करिब आठ वर्षपछि निर्देशनमा फर्किएका उनले, “आफ्नो सोच र खोजीअनुसारको स्क्रिप्ट पाएकै कारण फेरि निर्देशनमा फर्किन उत्साहित भएको” बताए। यसअघि उनले कसम, धुँवा यो नशा, अलविदा, कायरा लगायतका चलचित्र निर्देशन गरेका थिए भने डिसेम्बर फल्स र गणपति निर्माण गरेका थिए।

आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण हुने यस सोसल लभ–स्टोरी सिनेमालाई रामप्रसाद रिजालले निर्माण गर्दैछन्। उनी भन्छन्, “अघिल्ला काममा देखिएका कमजोरी सच्याएर ‘काजी’लाई अझ उत्कृष्ट बनाउन विशेष ध्यान दिएका छौँ।” स्याङ्जामा भव्य सेट निर्माणका लागि लाखौं खर्च गरिएको पनि उनले बताए।

यस सिनेमामा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्माको मुख्य अभिनय रहनेछ भने अन्य कलाकारबारे क्रमशः सार्वजनिक गराइनेछ । प्रदीप भारद्धाजले कथा पटकथा लेखेका छन् भने छायांकन चिन्तनराज भण्डारीले गर्नेछन्। गीत संगीतको जिम्मेवारी कालिप्रसाद बास्कोटाले लिएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.