‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’


काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो।

उनले स्मरण गरे, “सायद मैले छक्का पञ्जा ५ नहेको भए, माग्ने राजा बन्ने थिएन। स्क्रिनमा केदार घिमिरे ‘माग्ने बुढा’ देखिँदा दर्शकले दिएको ताली र सिठ्ठीले मलाई यो पात्रलाई केन्द्रमा राखेर फिल्म बनाउन प्रेरित गर्‍यो।”

तर, केदार घिमिरेले ‘छक्का पञ्जा’ फ्र्यान्चाइज बाहेक अरू फिल्ममा काम नगर्ने कुरा बाहिर फैलिएको बेला, निर्माता मुनालले उनीसँग प्रत्यक्ष कुरा गरेर सहमति जुटाएका रहेछन्। “उहाँले ‘काम गर्दिनँ’ भनेको भए, यो फिल्म नै बन्दैनथ्यो,” मुनालले भने।

निर्देशक ऋषि लामिछानेका अनुसार, फिल्ममा ‘माग्ने बुढा’को केवल लवज मात्र राखिएको छ, बाँकी कथा, शैली र प्रस्तुति एकदमै नयाँ छ। “संसारभर चलेको पात्रलाई लिएर नयाँ कथा बनाउने ट्रेन्ड छ, हामीले पनि ‘मेरी बास्सै’को केदारलाई लिएर फरक संसार सिर्जना गरेका छौं,” उनले स्पष्ट पारे।

केदार घिमिरेले पनि आफ्नो भूमिकामा पहिलेदेखि फरकपन पाएको अनुभव सुनाए। “लुगा, शैलीदेखि क्यारेक्टरको यात्रा सब फरक छ,” उनले भने, “तर दर्शकलाई मेरो पुरानो लवज नै मन परेकाले, फेरि यही लवजमा काम गर्नुपर्‍यो।”

फिल्मकी मुख्य अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो पात्र माग्ने राजाको यात्रामा प्रभावशाली भूमिका खेल्ने बताइन्। “स्क्रिप्ट पढ्नेबित्तिकै मन पर्‍यो। सुरुमा निर्देशक र निर्मातासँग ग्याप भएको कारण अलि हिचकिचाए पनि, काम सुरु गरेपछि निकै सहज र अपडेटेड वातावरण पाएं,” वर्षाले भनिन्।

लेखक सामिप्य राज तिमल्सेनाले फिल्म हाँसोमात्र होइन, गम्भीरता र देशभक्तिको सन्देश पनि बोकेको बताए। ट्रेलरले पनि यही भाव देखाएको छ।

माग्ने राजा आगामी भदौ ६ गतेदेखि रिलिज हुँदैछ। आरआर फिल्मसले वितरण गर्ने यस चलचित्रमा आर्यन सिग्देलको विशेष भूमिका छ भने, कथा, पटकथा र संवाद सामिप्य राज तिमल्सेनाले लेखेका हुन्। संगीत दीपक शर्मा र बाबुल गिरीको रहेको छ, छायांकन नरेन्द्र मैनालीले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.