काठमाडौं। साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेका आफ्ना दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ का कारण अभिनेत्री बेनिशा हमाल अहिले निकै व्यस्त छिन्। फिल्मको प्रचारप्रसारमा सक्रिय रहेकी बेनिशाले यहि बेला अर्को नयाँ जिम्मेवारी पनि पाएकी छन्आ इडिया फर वर्ल्ड नेपाल ट्रेडिङको ब्रान्ड एम्बेसडर।
कम्पनीले काठमाडौंको कमलादीस्थित स्काईवाक टावरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै अभिनेत्री हमाललाई आफ्नो आधिकारिक प्रतिनिधिका रूपमा सार्वजनिकरूपमा प्रस्तुत गरेको हो। कार्यक्रममा कम्पनीले पीसी डोम हाउस लगायतका २४ अन्तर्राष्ट्रियस्तरका नविनतम उत्पादनहरू सार्वजनिक गरेको थियो।
के हो आइडिया फर वर्ल्ड नेपाल?
आइडिया फर वर्ल्ड नेपाल एक नवप्रवर्तनशील होम हाउस प्रविधिमा आधारित कम्पनी हो, जुन बेलायतबाट प्रवर्तन भएको हो। कम्पनीले आधुनिक निर्माण प्रविधिलाई वातावरणीय उत्तरदायित्व, पहुँचयोग्यता र नवप्रवर्तनको संयोजनमार्फत अघि बढाउने दाबी गरेको छ। नेपालमा टिकाउ र स्मार्ट आवास निर्माणको सम्भावना खोज्दै यसले नयाँ सोच प्रस्तुत गरेको बताइएको छ।
कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गरे। प्रतिनिधि सभा सांसद मन्जु खाँण, होटल व्यवसायी, उद्योगपति, उद्यमी, कूटनीतिक प्रतिनिधि र विषय विज्ञहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
कम्पनीका निर्देशक सन्तोष सुवेदीले ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिका लागि साझेदारी’ भन्ने नारासहित कम्पनीको उद्देश्य स्पष्ट पारे। उनले कार्यक्रममा उपस्थित सहभागीहरूका जिज्ञासाको उत्तर पनि दिए।
ब्रान्ड एम्बेसडरको रूपमा बोलेकी अभिनेत्री बेनिशा हमालले यस्ता नवप्रवर्तनमूलक प्रयासहरूले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
कम्पनीकी सीईओ उषा खतिवडाले भने यो अभियान केवल व्यवसायिक सफलताको सुरुआत नभई नेपालको नवप्रवर्तन र दिगोपनामा अग्रसरता जनाउने ऐतिहासिक संकेतसमेत भएको धारणा व्यक्त गरिन्।