‘जारी २’ ले गर्यो पोस्टरसँगै आफ्नो रिलिज मिति घोषणा


काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘जारी’ को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सिनेमा असोज ३ गते रिलिज हुनेछ।

आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ।

‘जारी-२: सङ अफ च्याब्रुङ’ भनिएको यस सिनेमाको अर्को पोस्टरमा दया र मिरुनालाई क्यामराका लागि हँसिलो मुद्रामा पोज दिइरहेको अवस्थामा देख्न सकिन्छ । कवि हुँदै सिनेमा लेखकको परिचय बनाउँदै सिनेमा निर्देशक भएका उपेन्द्र सुब्बा लिखित-निर्देशित सिनेमाको पहिलो पोस्टरमा दया र मिरुनाका अलावा बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । यसका साथै एउटी बालिका र मिरुनालाई अघि लगाएर आफू लठ्ठी टेक्दै, पछिल्तिर खोसेली बोकेका भरियासहित दयाहाङलाई देख्न सकिन्छ।

सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा दया, मिरुना, विजय तथा बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.