काठमाडौं । निर्देशक यम शेर्पाको नयाँ निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ।
अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माणपक्षले चित्लाङस्थित छायांकन सेटबाटै प्रदर्शन मिति सार्वजनिक गरेको हो। निर्देशक शेर्पाका अनुसार, “वितरक र प्रदर्शकसँगको सहमतिमा माघ १ गते रिलिज गर्ने निर्णय गरेका हौं।”
असार २१ गतेदेखि छायांकन सुरु भएको चलचित्रको अधिकांश सुटिङ काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा गरिएको हो। हाल चलचित्रको छायांकन अन्तिम चरणमा रहेको निर्माण टिमले जनाएको छ, र अबको दुई साता भित्र सुटिङ सकिनेछ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाश यो चलचित्रमार्फत पहिलोपटक एउटै पर्दामा देखिने भएका छन्। यद्यपि, निर्देशक यम शेर्पाको यो दयाहाङसँग दोस्रो सहकार्य हो। यसअघि उनले ‘कार्साङ’ निर्देशन गर्दा पनि दयाहाङ प्रमुख भूमिकामा थिए।
अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन् भने बाल–कलाकारको भूमिकामा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
चलचित्रको कथा निर्देशक यम शेर्पाकै लेखनमा आधारित छ। छायांकनमा आलोक शुक्ला, लाइन प्रोड्युसरमा बिरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप आर्टिस्ट सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। आरआर फिल्म्सका सञ्चालक एवं वितरक रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्। देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।