काठमाडौं। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको एक महत्वपूर्ण अङ्गका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरणा लिँदै सिनेमाको नाम राखिएको हो। यही कारणले फिल्ममा सांस्कृतिक चेतना र नेपालीपनको गहिरो झल्को रहने निर्माण पक्षले जनाएको छ।
यो सिनेमाबाट रन्जन रिजाल सिने निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहँदै सयौं भिडियोमा अभिनय गरेका रिजालले अब निर्माता रूपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन्।
मुस्कान ढकालले सिनेमाको निर्देशन गर्ने छन्। ‘नाइँ नभन्नु ल ३’ र ‘समर लभ’ निर्देशन गरिसकेका ढकाल सम्भावनाशील युवा निर्देशक मानिन्छन्। यो पटक उनले सांस्कृतिक र पारिवारिक कथावस्तुमा आधारित सिनेमा निर्देशन गर्न लागेका हुन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्ममा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकाल स्वयंको लगानी रहनेछ। सिनेमाको छायांकन आगामी तिहारपछि सुरु हुने निर्माण पक्षले जनाएको छ। आज साउन १६ गते, शुक्रवार टाइटल सार्वजनिक गरिएको हो। हाल कलाकार छनोट र प्राविधिक तयारीका कामहरू अगाडि बढिरहेको जनाइएको छ।
प्रस्तुतकर्ता रिजाल भन्छन्, “नेपाली दर्शकले आफ्नै परिवेश, भाषा र मौलिक कथामा बनेका सिनेमालाई बढी रुचाउने गरेका छन्। त्यसैले हामीले पनि दर्शकको चाहनालाई ध्यानमा राख्दै विषयवस्तु तयार गरेका हौं।”
निर्देशक ढकालका अनुसार अहिले फिल्मको लोकेशन स्काउटिङ र मुख्य कलाकार छनोटको काम चलिरहेको छ। सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनबीच सन्तुलन कायम राख्ने प्रयास गर्ने उनले बताए।