‘मोहर’ को ट्रेलर सार्वजनिक : प्रेम, पीडा र प्रतिशोधको गहिरो कथा


काठमाडौं। सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र प्रतिशोधको भावनाले भरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ। आउँदो साउन २३ गते प्रदर्शनमा आउने यो फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।

ट्रेलरले मुख्य रूपमा नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह वरिपरि कथा बुनेको छ। साथै, लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल कलाकार सारा शर्माको अभिनयले पनि प्रभावशाली उपस्थिति देखिएको छ।

फिल्म ‘मोहर’ ले देउकी प्रथाजस्तो सम्वेदनशील सामाजिक मुद्दालाई केन्द्रमा राख्दै सशक्त कथा प्रस्तुत गरेको छ। एउटी बालिकाको देउकीमा चढाइने विषयबाट सुरु भएको कथा प्रेम, संघर्ष र बदलाको आरोह–अवरोहबीच अगाडि बढ्छ। पल शाहको बेनिशा र नीतिसँगको सम्बन्धले कथामा द्विविधा र गहिराइ थपेको छ। फिल्मको शिर्षक अनुसार, ट्रेलरमा ‘मोहर’को महत्व र आवश्यकतालाई पनि झल्काइएको छ ।

पहिले नै सार्वजनिक दुई गीत र टिजरले दर्शकको ध्यान खिचिसकेको बेला ट्रेलरले फिल्मप्रतिको जिज्ञासा झनै बढाएको छ। ट्रेलरमा ‘मोहर’ शीर्षकको गहिरो अर्थलाई समेत प्रभावकारी रूपमा उजागर गरिएको छ।

फिल्ममा मिथिला शर्मा, रविन्द्र झा, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतको सशक्त अभिनय देख्न पाइनेछ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । यो फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।
रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा कुमार महर्जनको एक्सन छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.