काठमाडौँ । फेसन र सौन्दर्यको संगम ‘फेस अफ नेपाल २०२५’ ले आफ्नो चार जना विजेताको घोषणा गरेको छ। एमएस प्रोडक्सन नेपालको आयोजनामा आइतबार साँझ हायात रिजेन्सीमा सम्पन्न भव्य फिनालेमार्फत पुरुषतर्फ सौगात प्रधान र योगेश शर्मा तथा महिलातर्फ सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य विजेता घोषित भएका हुन्।
यी चार विजेताहरूले अब कोरियामा हुने ‘फेस अफ एसिया’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको राष्ट्रिय निर्देशक मेनुका माझीका अनुसार आगामी अक्टोबरमा कोरियाको लागि टोली प्रस्थान गर्ने कार्यक्रम छ। उनले गत वर्ष जस्तै यस वर्ष पनि विजेताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उजागर गर्ने विश्वास व्यक्त गरिन्।
प्रतियोगिताका विजेताहरूले करिब १५ लाख बराबरका अवसर र उपहार प्राप्त गरेका छन्।
फिनाले समारोहलाई थप गरिमामय बनाउँदै फेस अफ एसिया की अन्तर्राष्ट्रिय निर्देशक राउल इनली विशेष अतिथिका रूपमा उपस्थित थिइन्। निर्णायक मण्डलमा अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, निर्देशक सरोज पौडेल, व्यवसायी मनिष कुमार खेम्का, र आयोजक निर्देशक मेनुका माझी रहेका थिए।
प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्की ले सम्हालेका थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए। कार्यक्रमको होस्टिङ सेसेमी लिम्बुले गरिन्।
एमएस प्रोडक्सन नेपालले गत वर्षदेखि फेस अफ नेपाल आयोजना गर्दै आइरहेको छ, जसले नेपाली युवा प्रतिभालाई अन्तर्राष्ट्रिय रंगमञ्चमा पुर्याउने अवसर प्रदान गर्दै आएको छ।