काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ। सुशान्त गौतमको निर्देशनमा तयार भएको यो चलचित्र रहस्य, संघर्ष र मनोवैज्ञानिक द्वन्द्वको कथा प्रस्तुत गर्छ।
टिजरको सुरुवात मोरङ जिल्ला कारागारको गेट अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट हुन्छ। त्यसपछि उनले सिक्का उछाल्छन्, जुन चक्रको केन्द्रमा गएर रोकिन्छ। त्यो चक्रभित्र एक पजल देखिन्छ, जसमा पहिलो टुक्रामा चक्कु देखिन्छ। क्रमशः पहेँलो बस्त्रधारी चार व्यक्ति, आगो, र हावामा उडिरहेका नोटहरू देखिन्छन्।
टिजरले पैसाको लागि हुने सञ्जाल, लोभ र संघर्षको संकेत गर्छ। चलचित्रले पैसाको मोहमा परेका व्यक्तिहरू कसरी एक चक्रव्यूहमा फस्छन् र त्यहाँबाट बाहिर निस्कन संघर्ष गर्छन् भन्ने कथा भन्ने निर्माण पक्षको भनाइ छ।
‘अभिमन्यु : च्याप्टर–१’ यही भदौ २७ गते नेपाली संस्करणमा रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतको मुख्य अभिनय रहेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो फिल्म सुशान्त गौतमको निर्देशनमा बनेको हो, जो यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्।
चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशन मदन थापाले सम्हालेका छन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
टिममा जीवन शाक्य (लाइन प्रोड्युसर), आकाश उखेडा (मुख्य सहायक निर्देशक), मदन घिमिरे (सम्पादक), सरोज श्रेष्ठ (निर्माण नियन्त्रक) र शरद महतो (डिओपी) रहेका छन्।