काठमाडौँ। नखाको बिषले सतायो,नचल्ने खोटी बनायो
लुटेर खुशी जीवनको,अधर्मी पापी बनायो ।
घाम,जून सबैको एउटै हैन र ?
हामीले फेर्ने सास एउटै हैन र ?
सानो र ठूलो भेदभाव किन ?
मान्छे–मान्छेको जात एउटै हैन र ?
जातीय बिभेद तथा भेदभावका कारण अन्तरजातीय प्रेमजोडी तथा दम्पत्तिले यद्यपी हाम्रो समाजमा भोग्नु,गर्नुपरेको संघर्षको यथार्थता झल्कने उल्लेखित पंक्ति निर्माणाधीन चलचित्र ‘जदौ’ को एउटा गीतको स्थायी हो ।
राजधानीमा बिहीबार आयोजीत ‘जदौ’ फिल्म निर्माण घोषणा कार्यक्रममा कलाकारहरु मुकुन भुसाल,नीति शाह,प्रभातपाल ठकुरी,विनोद न्यौपाने अनि सन्ध्या श्रेष्ठले प्रिति कौर लिखित सो गीत वाचन गर्दा माहौल स्तब्ध बनेको थियो । लगतै कार्यक्रमका प्रमुख अथिति चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता–मानिस ठूलो दिलले हुन्छ जातले हुदैन..वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ को अन्य जानकारी दिइए तापनि निर्देशकबारे भने खुलाइएको थिएन । प्रेसमिटमा ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने जानकारी दिइयो । भदौ पहिलो साताबाट सुटिङ थालीने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहेको छ । कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि ब्यप्त जातीय बिभेदका बिबिध घटनाहरुबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मूल गर्नका लागि फिल्मले आवाज बुलन्द गर्ने दावी गरिन् ।
निर्देशक द्वय मध्येका अञ्जन शर्माले समाजका यथार्थ घटना,जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले बर्षाैदेखि देखि,भोगी आएका वास्तवीक जातीय बिभेदकारी घटना,प्रसंगहरुलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको उल्लेख गर्दै फिल्मले सम्पूर्ण नेपालीको मन जित्ने बिश्वास ब्यक्त गरे ।
अभिनेता मुकुन भुसाल र बिनोद न्यौपानेले आफुहरुले अहिलेसम्म गरेका भन्दा बिल्कुल भिन्न पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए । अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउदै यो फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् । उनले अहिले आफूलाई ‘जदौ’ का लागि बिशेष रुपले तयार गरिरहेको बताइन् । अभिनेता प्रभातपालले आफूलाई बिश्वास गरेर गहन भूमिका सुम्पिएकाले आफूले निकै गम्भीरताका साथ तयारी सुरु गरेको बताए । उनले ‘जदौ’ ले आफ्नो करिअर उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे । नवअभिनेत्री सन्ध्याले डेब्यु फिल्ममै सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्ने मौका पाएकोमा खुशी ब्यक्त गरिन् ।
मुकुन,नीति,प्रभातपाल,बिनोद,सन्ध्याका साथमा ऋचा शर्मा,अनिल सुब्बा,सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय गर्ने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा,नारायण शास्त्री,गोकुल केसी,अर्जुन खड्का,काजी केसी,सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने फिल्मको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी (देवा),कला निर्देशक चिरञ्जीवि भण्डारी,द्वन्द्व निर्देशक मिलन श्रेष्ठ छन् । बिनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत छ । फिल्म दाङ र प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।
संचारकर्मीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गोलाप्रथाद्वारा भाग्यशाली ७ संचारकर्मीलाई पुरस्कार स्वरुप दैनीक जीवनमा उपयोग हुने बिबिध सामाग्रीहरु प्रदान गरिएको थियो । निर्देशक लिम्बूले ‘जदौ’ यादगार बनोस् भनेर लक्की सेभेन गिफ्टको कन्सेप्ट ल्याइएको बताए । कार्यक्रम बरिष्ट पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले संचालन गरेका थिए ।