शान्तिश्री परियार र रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौँ। तीज गीतका नाममा अश्लीलता र विकृति फैलाएको आरोपमा लोक गायिका शान्तिश्री परियार र गायक रामजी खाँडसहितका केही कलाकारका गीतहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीनवटा गीतमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो।

संस्थाका सचिव कमल सरगमका अनुसार उजुरीमा परेका गीतहरूमा ‘गाई कालो’ (ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर), ‘सल्ला दमारमा’ (राजकुमार वली, अस्मिता थापा, लक्ष्मी थापा) र ‘लुकी लुकी’ (रामजी खाँड र शान्तिश्री परियारको स्वर) रहेका छन्। परियार र खाँडको गीतमा अभिनेत्री प्रियंका कार्की, सुनिल क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन्।

संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव सरगमले हस्ताक्षर गरेको उजुरी साइबर ब्युरोका प्रवक्ता एसएसपी दीपकराज अवस्थीलाई बुझाइएको हो। उजुरीसँगै ब्युरोले गीतहरूमा आपत्तिजनक सामग्रीको अध्ययन गरी आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको सरगमले जानकारी दिए।

अध्यक्ष गौतमले भने, “हामी कसैलाई व्यक्तिगत रूपमा लक्षित गर्ने होइनौँ। जसले विकृति फैलाउने खालका सिर्जना गर्छन्, उनीहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाउने हाम्रो अभियान हो।”

यसअघि लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकलाई पनि तीज गीतमा फैलिएको विकृतिका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको थियो। गृहमन्त्रीको निर्देशनपछि साइबर ब्युरोले यस्ता सामग्रीमाथि निगरानी र कारबाही प्रक्रिया तीव्र बनाउने जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.