‘नाकछोङ’ युकेमा विशेष प्रदर्शन, सम्पूर्ण टिकट विक्री


काठमाडौं। राई समुदायको मौलिक परम्परा र नेपाली सांस्कृतिक धरोहरलाई सजीव रूपमा उजागर गर्ने चलचित्र ‘नाकछोङ’ अब युनाइटेड किङ्गडम (UK) मा प्रदर्शन हुने भएको छ। आगामी जुलाई २० मा ‘द आसफोर्ड सिनेमा’मा तय गरिएको विशेष शोको सम्पूर्ण टिकट पहिले नै विक्री भइसकेको जानकारी निर्माता ज्योति राज राईले दिएका छन्।

शोप्रति दर्शकको अत्यधिक उत्साह र टिकटको अग्रिम विक्रीले निर्माता राई उत्साहित बनेका छन्। चलचित्र प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का. स. आसफोर्डले गरेको हो।

यसअघि सार्वजनिक गरिएको पोस्टरमा प्रमुख कलाकार भुवन सिंह राईलाई काठमाडौँको सांकेतिक परिवेशमा प्रस्तुत गरिएको छ, जसले कथावस्तुमा रहेको सांस्कृतिक गाम्भीर्य र रहस्यलाई झल्काउँछ।

निर्माता ज्योति राज राईको प्रस्तुति रहेको फिल्मको निर्देशन किरण राईले गरेका हुन्। उनले यसअघि ‘लुङा’ र ‘जिउ पैचौ’ निर्देशन गरिसकेका छन्।

‘नाकछोङ’ किरण राईको तेस्रो निर्देशन हो, जसको पटकथा उनले स्वयं निर्माता राईसँग सहकार्य गर्दै तयार गरेका हुन्।

फिल्म युनिटका अनुसार युके प्रदर्शनपछि फिल्म नेपालमा सार्वजनिक गर्ने योजना बनाइएको छ। फिल्मको मूल कथावस्तु राई समुदायको जीवनशैली, विवाह संस्कार, चाडपर्व, तथा कुलपितृ पूजामा अनिवार्य मानिने ‘बिजुवा (नाकछोङ)’ पात्र वरिपरि केन्द्रित छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.