‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?


काठमाडौं । केही समयअघिसम्म सहायक भूमिकामा देखिने विजय बराल अहिले नेपाली सिनेमामा सबैभन्दा धेरै चर्चा कमाउने अनुहारमध्ये एक बनेका छन्। विशेषगरी ‘पूर्ण बहादुरको सारंगी’मा उनको अभिनयले दर्शकको मन जितेपछि उनीप्रति विश्वास र चासो दुवै एकाएक बढेको छ। फिल्मले ब्लकबस्टर व्यापार गरेसँगै बरालको करिअरले नयाँ मोड लिएको छ।

अब भने बराल ‘लिड’ भूमिकामा देखा पर्दैछन्, त्यो पनि कथावाचनमै फरक स्वाद बोकेको फिल्म ‘जनै हराएको मान्छे’मार्फत। यहि भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर अहिले बजारमा अनेक चर्चा, अनुमान र अपेक्षा उब्जिएका छन्। दर्शक उत्साहित छन् ‘पूर्ण बहादुर’ले देखाएको सम्भावना ‘जनै हराएको मान्छे’मा कति फस्टाउँछ?

बराल आफैंले यसलाई आफ्नो करिअरको टर्निङ पोइन्टका रूपमा लिइरहेका छन्। स्रोतका अनुसार फिल्ममा उनी एक गहिरो चरित्रमा देखिनेछन्, जसले समाज, संस्कार र अस्तित्वको प्रश्न उठाउँछ। फिल्मको शीर्षक ‘जनै हराएको मान्छे’ जति रोचक छ, कथा र प्रस्तुति पनि त्यत्तिकै अर्थपूर्ण भएको चर्चा छ।

विजय बरालका लागि यो चलचित्र ‘टेस्ट’ हो उनी साँच्चै ‘लिड’ रोलमा चलचित्र चलाउने स्टार हो वा अझै सहायक भूमिकामै सीमित रहने? यो उत्तर दिनेछ ‘जनै हराएको मान्छे’को व्यापार र प्रभावले।

जसरी सारंगीको धुनले उनको कलालाई जीवन्त बनायो, अब जनै हराएको कथाले उनको भविष्य र स्टारडमलाई आकार दिनसक्ने सम्भावना छ। बरालको अभिनययात्रा कहाँ पुग्छ भन्ने अबको कथा भदौ ६ बाट सुरु हुँदैछ। हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रेअर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.