काठमाडौं। नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्ने फिल्म ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर भएको छ। चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहमा हुलाक सेवा विभागले ‘आमा’ लाई समर्पित टिकट सार्वजनिक गरेको हो।
वि.सं. २०२१ सालको असोज महिनामा प्रदर्शनमा आएको ‘आमा’ नेपालकै पहिलो चलचित्र हो। हिरा सिंह खत्रीद्वारा निर्देशित यस फिल्ममा शिवशंकर र भुवन चन्दले मुख्य भूमिकामा अभिनय गरेका थिए। यिनै कलाकारहरूको तस्वीर समेटिएको टिकट अब नेपाली सिने इतिहासको एक महत्वपूर्ण पहिचान बनेको छ।
हुलाक सेवा विभागले रु. १० मूल्यका दुईवटा टिकट प्रकाशन गरेको छ, जसमा चलचित्र ‘आमा’का प्रमुख पात्रहरू अंकित छन्। टिकटको ‘प्रथम दिवसीय आवरण’ विशेष डिजाइनमा तयार पारिएको छ, जसले यो उपलक्ष्यलाई झनै स्मरणीय बनाएको छ।
टिकट सार्वजनिक कार्यक्रममा अभिनेत्री भुवन चन्द, वरिष्ठ कलाकारहरू चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको उपस्थिति रहेको थियो।
शाखा अधिकृत चन्द्रा थापाले डिजाइन तयार पारेको उक्त टिकटबारे बोल्दै महानिर्देशक पंगेनीले भनिन्, “यो टिकटले ‘आमा’ चलचित्रको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिएका छौं।”
साथै, आफू पनि संगीतकर्मी भएको उल्लेख गर्दै उनले भनिन्, “गीत लेख्छु, गाउँछु पनि। त्यसैले यो क्षण व्यक्तिगत रूपमा पनि अत्यन्तै गर्वको हो।” उनले राष्ट्रिय पहिचान झल्काउने ऐतिहासिक पक्षहरूलाई हुलाक टिकटमा समेट्दै आएको विभागले यसपटक नेपाली चलचित्रको पहिचानसमेत सुरक्षित राख्न पाएकोमा खुसी व्यक्त गरिन्। चलचित्रप्रेमी र इतिहासप्रेमीहरूका लागि यो टिकट एक अविस्मरणीय दस्तावेज बन्नेछ।