‘माग्ने राजा’ टिजर सार्वजनिक : केदार घिमिरे अब हलमा हँसाउने राजा


काठमाडौँ। ‘हल्का रमाइलो’ भन्दै दर्शकको मन जित्दै आएका कलाकार केदार घिमिरे अब पूर्णरूपमा ‘रमाइलो’ गराउने वाचा गर्दै सिल्भर स्क्रिनमा आउन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को सोमबार सार्वजनिक गरिएको टिजरले दर्शकलाई हास्यको संसारमा डुबाउने संकेत गरेको छ।

करिब पौने दुई मिनेट लामो टिजर संवाद, शैली र अभिनयको विविधताले भरिएको छ। केदार घिमिरेलाई केन्द्रमा राखेर निर्माण गरिएको यो टिजरले उनलाई बिल्कुलै नयाँ अवतारमा देखाएको छ। टेलिभिजनमा ‘माग्ने बुढा’ को रूपमा लोकप्रिय बनेका घिमिरे यस पटक ठ्याक्कै माग्ने तर राजा शैलीमा प्रस्तुत भएका छन्।

टिजरमा अर्का चर्चित हास्य कलाकार विल्सन विक्रम राई केदारका भान्जाको भूमिकामा देखिन्छन्। ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’को जोडीले सानो पर्दामा दर्शकलाई जिस्क्याइरहँदा, अब ठुलो पर्दामा पनि उनीहरूको केमेस्ट्री फेरि फर्किएको देख्न पाइनेछ।

टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङ्देलको झल्को देखिए पनि उनीहरूको भूमिकाबारे खास खुलासा गरिएको छैन।

यसअघि पोस्टरमार्फत केदारको नयाँ लुक सार्वजनिक गरेर दर्शकको ध्यान खिच्न सफल निर्माण टिमले टिजरमार्फत माग्नेको चरित्रलाई अझ गहिरो र चाखलाग्दो बनाएको देखिन्छ। ‘माग्ने राजा’ केदार घिमिरेको मुख्य भूमिकामा देखिएको पहिलो फिल्म हो।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् भने निर्माता मधुसुदन शर्मा रहेका छन्। निर्देशन ऋषि लामिछानेको रहेको यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ।

फिल्मको टिजर साहिल खानले तयार गरेका हुन्। ‘माग्ने राजा’ आगामी भदौ ६ गते नेपालसहित विदेशमा एकैसाथ रिलिज हुने तयारीमा छ। सिनेमाको वितरण आरआर फिल्मले गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.