‘निलम्स अवार्ड २०२५’ सात विशिष्ट व्यक्तित्वहरूलाई सम्मान


काठमाडौँ । प्राइड मन्थ २०२५ को अवसरमा ‘क्रमशः इन्टरटेनमेन्ट’को ब्यानरमा आयोजित ‘निलम्स अवार्ड २०२५’ शुक्रबार राजधानीमा भव्य रूपमा सम्पन्न भयो। ट्रान्स एक्टिभिस्ट, मेकअप आर्टिष्ट तथा समाजसेवी निलम पौडेलको व्यक्तिगत पहलमा सम्पन्न यस विशेष अवार्ड समारोहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

यस वर्ष सात जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो, जसमा गायक नट्टु शाह र पिरु राणा, कोरियोग्राफर तेञ्जु योञ्जन, समाजसेवी तथा डान्सर सुमन श्रेष्ठ (डल्ली ममी), मेकअप आर्टिष्ट तथा डान्सर उमिशा श्रेष्ठ, लोकगायक श्याम राना र मेकअप आर्टिष्ट अनिष तामाङ रहेका छन्।

त्यसैगरी, ‘युथ अचिभमेन्ट अवार्ड’ अन्तर्गत अनु शाही ठकुरी, दिनुप मगर र एन्जललाई सम्मानित गरियो। साथै, वर्ष २०२३ देखि सुरु गरिएको ‘महामहिम अवार्ड’ यसपटक सुष्मा लामा र केशाङ युडोनलाई प्रदान गरियो।

कार्यक्रमकी संयोजक निलम पौडेलका अनुसार, लामो समयदेखि सञ्चारमाध्यममार्फत अभिलेखीकरण गरिँदै आएको भेदभाव, संघर्ष र लचिलोपनलाई उजागर गर्दै समुदायको आत्मबल र प्रेरणादायी यात्रा प्रस्तुत गर्नु नै निलम्स अवार्डको उद्देश्य हो।

ब्याङ्कर अनिल केशरी शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अभिनेत्री श्वेता खड्का, मोडल ओशिमा बानु, डा. सुमी मल्ल, मिस युनिभर्स सम्पदा घिमिरे, सामाजिक अभियन्ता संगीता पुरी, सञ्चारकर्मी विना श्रेष्ठ, गायक सपन श्रेष्ठ, पूर्व मिस्टर नेपाल तथा डा. सन्तोष उपाध्यायलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकार तथा तेस्रोलिङ्गी प्रतिभा अनुपम श्रेष्ठ (हटी नटि) ले अभिनेत्री श्वेता खड्कालाई सम्मान गर्दै उनका गीतहरूमा नृत्य प्रस्तुत गरेकी थिइन्।

उक्त समारोहलाई निल हिरा समाज (ब्लु डायमण्ड सोसाइटी), फ्रुट जेम, परी कस्मेटिक्स तथा स्टेला मेकअप ब्रान्डले सहकार्य र प्रायोजन गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.