चलचित्र   ‘जहाजैमा’, मा भित्रीए  सौगात मल्ल 


काठमाडौं । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’ मा अभिनेता सौगात मल्ल फाइनल भएका छन् । भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्मका लागि सौगातसँग निर्माण पक्षले औपचारिक कागजी सम्झौता गरिसकेको छ ।

फिल्ममा सौगातको भूमिका सार्वजनिक गरिएको छैन तर उनले स्क्रिप्ट मन पराएर फिल्ममा काम गर्न सहमति जनाएको निर्माण टिमले जनाएको छ । यसअघि कलाकार केदार घिमिरेलाई पनि फिल्ममा अनुबन्ध गरिसकिएको छ । केदारको भूमिकाबारे पनि हालसम्म केही खुलाइएको छैन ।

यस अघि केदार घिमिरे ´माग्ने बुढा` पनि चलचित्रमा अनुबन्धित भैसकेका छन् ।  ‘जहाजैमा’ मा जापानीज अभिनेत्री रुजेल इचिमिया पनि अभिनय गर्ने पक्का भएको छ ।  सौगात र कृषाको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरू फिल्म ‘पिताम्बर’ मा सँगै काम गरिसकेका छन् ।

यूएनए प्रोडक्सनको ब्यानरमा तयार हुन लागेको फिल्मका निर्माता उज्ज्वल गुरागाईं हुन् भने डीओपीको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा गरिने बताइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रुपमा अगाडि बढिरहेको छ ।