गीतकार डा. भोला रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’


काठमाडौँ । नेपाली सांगीतिक, चलचित्र तथा चिकित्सा क्षेत्रका बहुप्रतिभाशाली व्यक्तित्व डा. भोला रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ।

नेपाल संगीतक संघले विश्व संगीत दिवसको अवसर पारेर आयोजित एक विशेष समारोहमा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो। सम्मानस्वरूप डा. रिजाललाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो।

गीतकार, कलाकार तथा फिल्म निर्माता मात्रै होइन, उनी चिकित्सा क्षेत्रमा एक कुशल गाइनोलोजिस्टका रूपमा पनि परिचित छन्। नेपाली कला र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको दीर्घ योगदानको उच्च मूल्यांकन गर्दै उनलाई यो विशेष सम्मान दिइएको हो।

कार्यक्रममा विभिन्न विधाका प्रतिष्ठित स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो। शिव शंकर मानन्धर, रत्न शमशेर थापा, प्रेमध्वज प्रधान, पुष्प नेपाली, फत्तेमान राजभण्डारी, शुभबहादुर सुनाम, राजेश–लक्ष्मी नृत्य गुरु तथा नेपाल सङ्गीतक सङ्घ नाममा राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ अमेरिका निवासी लेखक–निर्देशक विकास घले गुरुङले आफ्ना दिवंगत बाबु लाल गुरुङ र आमा समुन्द्रा गुरुङको स्मृतिमा स्थापना गरेका हुन्। अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी, प्रशिक्षक र नृत्य सिद्धान्तका अध्येता समेत रहेका गुरुङले नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको जानकारी दिएका छन्।

यसअघि यो सम्मान ओम प्रतीक गुरुङ, भीमार्जुन आचार्य, कोमल वली, निर शाह, महजोडी (हरिवंश आचार्य–मदनकृष्ण श्रेष्ठ) र विजय लामाले प्राप्त गरिसकेका छन्।

उक्त पुरस्कार प्रत्येक वर्ष जुन २१ तारिख अर्थात् विश्व संगीत दिवसकै अवसरमा प्रदान गरिँदै आएको छ।