सुर्खेतमा ‘सतीदेवी’ को विशेष शो र कर्णाली नारी सम्मान सम्पन्न, दर्शक भावविभोर


काठमाडौँ | नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को विशेष शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको बीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो।

लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, प्रदेशका उर्जा मन्त्री विजया बुढा लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। कतिपय दर्शक त खुलेआम रुन थाले।

नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति यसरी साटिन्:

“सतीदेवी हेरेपछि मन गह्रौं भयो। महिलाको संघर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना—सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भए। चलचित्र सकिएपछि उठ्नै सकिएन, एकछिन मौन भएर बस्न मन लाग्यो।”

उर्जा मन्त्री विजया बुढासँगै चलचित्र अवलोकन गरेकी ढकालले फिल्मको सिक्वेलमा सफल महिलाको कथा देखिनुपर्ने सुझाव पनि निर्देशक लक्ष्मण सुवेदीलाई दिएकी थिइन्। निर्देशकले मुस्कुराउँदै सकारात्मक प्रतिक्रिया जनाए।

निर्देशक सुवेदीले फिल्मपछि प्रतिक्रिया दिंदै भने,”म आफै कर्णालीको हुँ, आफ्नै ठाउँमा आफ्ना दर्शकसँग बसेर फिल्म हेर्दा त्यो आत्मीयता अपूर्व थियो। आगामी प्रोजेक्टहरू पनि यही प्रदेशमा छायांकन गर्न चाहन्छु।”

कार्यक्रमको विशेष आकर्षण ‘कर्णाली नारी सम्मान २०८२’ थियो, जसमा समाजमा महिलाको पहिचान, प्रेरणा र योगदानलाई सम्मान गरियो। प्लेयिङ फर चेन्ज द्वारा आयोजित यस समारोहमा विभिन्न क्षेत्रबाट सशक्त महिलाहरूलाई सम्मान प्रदान गरिएको थियो।

सम्मानित हुनेहरूमा जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा, नगर प्रमुख मोहनमाया ढकाल, पत्रकार माया थापा, खेलाडी सुनमाया बुढा, पाइलट सिर्जना रावत, समाजसेवी यमुना सापकोटा, राउटे समुदायकी अगुवा सत्यदेवी खड्का, महिला सहकारी अभियन्ता सुनिता खड्का, पत्रकार तृप्ति शाही लगायत थिए।

कार्यक्रमको सफलतामा प्लेइङ्ग फर चेन्ज का सल्लाहकार तथा युवा नेता भुपेन्द्रजंग शाही, अध्यक्ष प्रकाश खड्का, उपाध्यक्ष राजेन्द्र अधिकारी, स्वयंसेवक सुस्मा तिवारी, निश्चल कोईराला, भक्त बहादुर थापा, समीर खत्री तथा लक्ष्मी चलचित्र मन्दिर टिमको सक्रिय भूमिका रह्यो।

‘सतीदेवी’ मा मलिका महत को शीर्ष भूमिका छ, साथमा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, बाल कलाकार हर्षिका वली र मञ्जिला बानियाँको सशक्त अभिनय रहेको छ।

फिल्म श्रीदेवी सुवेदीको निर्माण तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया को सहकार्यमा दिलासा क्रिएसन को प्रस्तुति हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थुप्रै अवार्ड जितेको यो फिल्मलाई दर्शकले देशब्यापी प्रदर्शनको माग गरिरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.