१०० दिन पुग्यो ‘अञ्जिला’, सात हलमा प्रदर्शन


काठमाडौं। गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे । ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।

यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।