रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी  


काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्ति सहितको एआई भिडियो छ ।

अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा निर्माणपक्षले सहजै बनाएर सिनेमाको प्रयोग गरिरहेको छ । यसले एआईको अधिकतम प्रयोग सिनेमाको प्रचारमा गर्न सकिने प्रष्ट पारेको छ ।

निर्माणपक्षले सिनेमाको प्रचारमा यति किन राख्यो ? यतिजस्तै महत्वपूर्ण तर दुर्लभ सिनेमा हो ‘अभिमन्यु : च्याप्टर–१’ भन्ने अर्थमा हो ? अथवा संयोग मात्रै हो ? यसबारे निर्माणपक्षले केही बताएको छैन ।जे भए पनि निर्माणपक्षले चाहेको खण्डमा सस्तो र सरलमाध्यमबाट एआईको प्रयोग गरेर सिनेमाको प्रचार गर्न सक्छन् भन्ने चाहिँ यी दुई भिडियोबाट अनुशरण गर्न सकिन्छ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को यसअघि नै काउन्ट–डाउन सुरु गरिसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट–डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ । यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.