कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने


काठमाडौँ। निर्देशक कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् ।

यो फिल्मको नाम ‘जहाजैमा’ राखिएको छ । फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ । उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।

सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायांकन गरिनेछ । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ । फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।

जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ । एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।