‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको छमछमी


काठमाडौ । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो ।

गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

५९ वर्ष अगाडि फिल्म ‘माइतीघर’मा समावेश ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीत आज पनि दर्शकहरुको मुखमा झुन्डिएको छ । सोही गीतलाई रोहितले आफ्नो फिल्म ‘माइतीघर’मा समावेश गरेका हुन् । यो गीतले पनि दर्शकको माया पाउने विश्वास गरिएको छ ।

गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ । गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।

फिल्म ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । यो फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षको भनाई छ ।

फिल्म ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरिरहेका छन् । फिल्ममा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ । जुन फिल्मको एक महत्वपूर्ण हिस्सा हो ।

सुसन प्रजापतिको छायांकन रहेको  फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्मको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ ।