‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश: ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट


काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली चलचित्रका लागि उल्लेखनीय मानिन्छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको चलचित्रले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको छ । ‘ऊनको स्वीटर’ नेपाली चलचित्र उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र बन्न पुगेको छ ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग दिएको छ । यस्तै, वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र पनि ‘ऊनको स्वीटर’ बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.