काठमाडौं । केही समयदेखि ठूलो पर्दाबाट टाढिएका अभिनेता पुष्प खड्का नेपाली फिल्म ‘महाराजधिराज’मार्फत पुनः रजतपटमा फर्किँदै छन् । स्टारकास्टको अनुबन्धलाई अघि बढाउँदै निर्माण टिमले आइतबार पुष्पलाई अनुबन्धमा लिएको हो ।
आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भइसकेको फिल्ममा पुष्पको आगमनले कलाकारको सशक्त मिश्रण देखिने संकेत मिलेको छ । फिल्म फरक स्वादको कथावस्तुमा निर्माण हुने निर्माण पक्षको भनाइ छ ।
फिल्ममा आफ्नो भूमिका विशेष र चुनौतीपूर्ण रहेको भन्दै पुष्प उत्साहित देखिएका छन् । उनले ‘महाराजधिराज’ले आफ्नो अभिनय यात्रा नयाँ मोडमा लैजाने विश्वास व्यक्त गरेका छन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहने फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सेन निर्देशित अघिल्लो फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा सफल भएको थियो ।
छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा बन्ने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले निर्माण गरेको ‘बुलाकी’ले राष्ट्रिय अवार्ड जितेको थियो ।
फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।