‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक


JANTE BHAGRO

काठमाडौ। आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस फिल्मको शिर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

यो फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सिमोश सुनुवारले बताएका छन् । फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसअगाडि फिल्मको सार्वजनिक गरिएको दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाईसकेका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यस फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । फिल्म आगामी जेठ २३ मा नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएका छन् ।