चलचित्र पत्रकारिता दिवस धनगढीमा विविध कार्यक्रमसहित सम्पन्न


काठमाडौ। चलचित्र पत्रकार संघ नेपाल, कैलालीले २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ शनिबार विविध कार्यक्रममार्फत धनगढीमा मनाएको छ। ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया’ भन्ने मूल नारासहित दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको मौलिक संस्कृति जोगाउन राज्य गम्भीर हुनुपर्ने बताइन्। उनले कलाकारिता तथा संस्कृति क्षेत्रमा बजेट विनियोजन आवश्यक रहेको उल्लेख गर्दै निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएको धारणा राखिन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले प्रतिष्ठानको बजेट कटौती भएको गुनासो गर्दै चलचित्र महोत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बाल नरसिंह राणाले कैलालीमा थुप्रै रमणीय स्थान रहेकाले फिल्म छायांकनका लागि उपयुक्त गन्तव्य हुन सक्ने बताए। उनले कलाकार र निर्माण टोलिलाई प्रहरी प्रशासनबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए।

चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको माग गरे। ‘कलाकारको संगठनबिनाको चलचित्र पत्रकार संघ अधुरो हुन्छ,’ उनले भने, ‘अरु प्रदेशमा बोर्ड गठन भएको छ, सुदूरपश्चिममा पनि गठन गर्नुपर्छ।’

कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, कैलाली अध्यक्ष श्रवण देउवा, बझाङ अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतको उपस्थिति थियो।

चलचित्रकर्मी उदय बोहरा, कलाकार सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगमलगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक सिंह नागरीले राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव कृत बहादुर विष्टले गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.