‘लालीबजार’ निर्माणको घोषणा, दशैंपछि छायांकन


काठमाडौ। ´जात्रा` श्रृङ्खलामार्फत चिनिएको ब्यानर षट्कोण आर्टसले नयाँ फिल्म लालीबजार निर्माण गर्ने भएको छ।

यसपटक उक्त टिमले पहिलोपटक बाहिरी ब्यानरसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेको हो। यम थापाको लेखन तथा निर्देशन रहने फिल्मको निर्माता रविन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहनेछन्।

‘स्क्रिप्टको खोजी गर्ने क्रममा निर्देशक थापासँग सहकार्यको सहमति जुटेको हो,’ निर्माता बानियाँले भने।

फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। रोयल भीमसेनद्वारा तयार गरिएको पोस्टरमा परम्परागत चुरा गोल आकृतिमा देखाइएको छ। चुराभित्र रातो लिपिस्टिक ठाडो देखिन्छ भने एक गोली तेर्सो अवस्थामा लडेको देखिन्छ। पोस्टरले द्वन्द्व र रहस्यको संकेत गर्छ।

हाल कलाकार छनोटको प्रक्रिया चलिरहेको बताइएको छ। फिल्मको छायांकन दशैंपछि सुरु हुने निर्माण पक्षले जनाएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.