‘राम नाम सत्य’ मा सुशील श्रेष्ठको इन्ट्री, विराज भट्ट पहिल्यै फाइनल


काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेका माइकल चन्द अब फिल्म निर्देशनमा पाइला चाल्दै छन्। उनी आफ्नो डेब्यु फिल्म ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’ को प्रि–प्रोडक्सनमा व्यस्त छन्।

फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ। अहिले कलाकार अनुबन्धनको काम तीव्र रुपमा चलिरहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा अभिनेता विराज भट्ट पहिल्यै अनुबन्धित भइसकेका छन्। यद्यपि, उनले निर्वाह गर्ने भूमिकाबारे खुलाइएको छैन।

यसैबीच, अभिनेता सुशील श्रेष्ठ पनि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। निर्माण टिमले बुधबार सुशीलसँग कागजी सम्झौता गरेको हो।

स्क्रिप्ट पढेपछि आफू निकै उत्साहित भएको प्रतिक्रिया सुशीलले दिएका छन्। “फिल्ममा एक्सन, लभ स्टोरी र सस्पेन्सको मिश्रण छ,” उनले भने, “फरक अनुभवका लागि तयार छु।”

‘राम नाम सत्य’ मा सुशीलको एक्सन र रोमान्स अवलोकन गर्न पाइने निर्माण पक्षको भनाइ छ। अब फिल्मका लागि नायिका र केही अन्य कलाकारहरू फाइनल गर्न बाँकी रहेको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङले लगानी गर्नेछन्। कार्यकारी निर्मातामा डा. डी.आर. उपाध्याय, टी.आर. गौडेल र नरेन्द्र शाह रहेका छन् । फिल्मको छायांकन केही महिनाभित्र सुरु गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.