विपिन कार्की भन्छन्: ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज बन्नेछ


काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको संसारलाई पर्दामा उतार्ने प्रयास गरेको बताए।

“मैले यो चलचित्रको कथा चार वर्षअघि नै सोचिसकेको थिएँ,” चौहानले भने, “कथासँग आत्मीय सम्बन्ध महसुस भएपछि यसको नाम ऊनको स्वीटर राखें। गीत र म्युजिक भिडियोको अनुभवबाट फरक भएर, मैले चलचित्रमा कथाको गहिराइलाई प्रस्तुत गर्न खोजेको हुँ।”

साङ्गीतिक श्रव्यदृश्यमा पृथक शैली देखाइसकेका चौहानले चलचित्र र म्युजिक भिडियोको निर्माण शैलीमा फरक रहेको प्रष्ट पारे। “चलचित्रले समय, सन्देश र पात्रहरूसँग गहिरो सम्बन्ध राख्छ,” उनले थपे।

चलचित्रका मुख्य अभिनेता विपिन कार्कीका अनुसार ‘ऊनको स्वीटर’ पूर्वी नेपालको सुन्दरता र संस्कृतिलाई उजागर गर्ने एउटा यादगार चलचित्र बनेको छ। “व्यावसायिक सफलता के कस्तो होला भनेर म भन्न सक्दिनँ,” कार्कीले भने, “तर यसको विषयवस्तु र प्रस्तुति यस्तो छ, जसले यो चलचित्रलाई दीर्घकालीन बनाउँछ। ग्रामीण जीवनको अभिलेख जस्तै बन्नेछ यो – नयाँ पुस्ताका लागि दस्तावेज। यो मेरो उत्कृष्ट पाँच चलचित्रमध्ये पर्छ।”

कार्कीले यसअघि ‘जात्रा’, ‘हरि’, ‘नाका’ र ‘सेल्फी किङ’ लाई अभिनयका दृष्टिले विशेष स्थान दिएका थिए। “यी चलचित्रहरूमा मैले निभाएका पात्रहरूले मलाई दर्शकसँग गहिरो सम्बन्ध बनाउन मद्दत गरे,” उनले भने, “त्यो अनुभव ‘ऊनको स्वीटर’ मा पनि दोहोरिएको छ।”

चलचित्रमा विपिनको जोडीको रूपमा अभिनेत्री मिरुना मगर देखिँदैछिन्। उनी ‘फूल गुरुङ’ नामक आत्मविश्वासी पात्रको भूमिकामा छिन्। “सुरुमा डर लाग्थ्यो,” मिरुनाले भनिन्, “किनभने यो पात्र मेरो वास्तविक जीवनभन्दा एकदम फरक छ। तर विपिनसँगको सहकार्यले अभिनयका नयाँ आयामहरू सिक्न पाएँ।”

बाल्यकालमै विदेश गएकी मिरुनाले ग्रामीण जीवनको अनुभव कम भएको बताइन्। तर चलचित्रमार्फत उनले नेपालको कला र संस्कृति नजिकबाट बुझेको अनुभव सुनाइन्। “पात्रको यात्रामार्फत मैले संस्कृतिको आत्मा महसुस गरेँ,” उनले भनिन्।

‘ऊनको स्वीटर’ मा परीक्षा लिम्बू, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको पनि अभिनय छ। चलचित्र वैशाख २६ गते प्रदर्शनमा आउँदैछ, जसको छायांकन पाँचथर जिल्लामा गरिएको हो।