काठमाडौं । प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको चर्चित कृति ‘जार’ मा आधारित चलचित्र यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखिँदैछन्।
सौगात मल्लका लागि यो चलचित्र कुनै सामान्य अभिनय अवसर थिएन। दुई दशकअघि उनले इन्द्रबहादुर राईको कथा ‘जार’ पढेपछि यसमा अभिनय गर्ने गहिरो चाहना राखेका थिए। त्यो चाहना अब आएर पूरा भएको उनी बताउँछन्।
“२७ वर्षअघि गुरुकुलमा नाटक ‘जार’ हेरेपछि मलाई त्यो कथाले निकै छोयो,” सौगात सम्झन्छन्, “त्यतिबेला म अर्को चलचित्रमा फाइनल भइसकेको थिएँ, त्यसैले नाटकमा काम गर्न पाइएन। तर कथा पढ्दा यति प्रभाव पार्यो कि रातभर निद्रा हरायो।”
सौगात भन्छन्, “मैले त्यो बेलामा नै नाटक बनाउने सोच बनाएको थिएँ, तर सिनेमा त कल्पना पनि गरेको थिइनँ। अहिले आएर जब त्यही कथा फिल्म बन्ने भयो र मलाई अफर आयो, त्यो क्षण अचम्मको थियो—सपना पूरा हुनेबेला यस्तै हुँदो रहेछ।”
उनी जुनसुकै भूमिकामा भए पनि ‘जार’ मा काम गर्न तयार थिए, तर मुख्य भूमिकाको अफर पाएपछि त्यो अनुभव झन् विशेष भएको सुनाउँछन्। सौगातले चलचित्रमा निभाएको पात्रबारे पुस्तकमै पढ्दा आफूलाई ‘काँडा उम्रेझैँ’ महसुस भएको बताउँछन्।
“मैले ‘कागबेनी’ पछि सबैभन्दा गहिरो अनुभव ‘जार’कै पात्रमा पाएँ,” उनी भन्छन्, “गुरुकुलमा इन्द्रबहादुर राईले नाटकको प्रसंग उठाउँदा म त्यो पात्रमा कुनै दिन फिल्म बन्छ भने निभाउने प्रतिबद्धता जनाएको थिएँ।”
कथा पढेपछि तीन महिना त्यसै पात्रमा बाँचेझैँ भएको अनुभव सौगातको छ। “तीन महिना त जारबारे कुरा हुँदा लाग्थ्यो म त खेलिसकेँजस्तो। जुन कथा, पात्र वा माहोलसँग गहिरो सम्बन्ध बस्छ, त्यही हो अभिनयको असली प्रेरणा,” उनी सुनाउँछन्।
उनका अनुसार ‘जार’ १८औँ शताब्दीको सामाजिक पृष्ठभूमिमा आधारित छ, जहाँ उनले अरुको श्रीमती भगाउने गाह्रो भूमिका निभाएका छन्। “त्यो समय, समाज, कानून, भाषा र मनोविज्ञान सबै फरक थिए। यस्तो चरित्रमा डुब्न चुनौती त थियो नै, तर यही चुनौती मलाई प्रिय थियो,” सौगात भन्छन्।
चलचित्र ‘जार’ सामाजिक विषयवस्तुमा केन्द्रित भए पनि निर्देशक फुर्वा लामाका अनुसार यो पूर्ण मनोरञ्जनात्मक प्याकेज हो। उनी दर्शकको राम्रो प्रतिक्रिया आउनेमा आशावादी छन्।
सिक्किममा छायांकन गरिएको चलचित्र ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
चलचित्रमा सरवनन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन र झुमा लिम्बू तथा गंगा थापाको संगीत रहेको छ। नेपाल, भारत तथा अन्य अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने यो फिल्मको नेपाल वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ।