भट्टराईको चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला


काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो ।

यस चलचित्रको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक – सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको थियो, जसमा आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको यस चलचित्रमा अभिनय रहेको छ ।

यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताए ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।