काठमाडौं । नेपाल चलचित्र संघको ५०औँ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह आइतबार ललितपुरस्थित रोयल टुलिप होटलमा भव्यताका साथ सम्पन्न भएको छ।संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरू शम्भुजित बास्कोटा र कृष्ण मल्ल, सदस्य सचिव राजेश कुमार थापा तथा वरिष्ठ कलाकारहरू हरिवंश आचार्य, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी र रेखा थापा सहभागी थिए।
चलचित्र पत्रकार संघ नेपाल, निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, द्वन्द्व कलाकार संघ, प्राविधिक संघ, नृत्य संघका अध्यक्षहरू तथा नेपाली चलचित्र उद्योगका कलाकार, निर्देशक, निर्माता, प्राविधिक, वितरक र प्रदर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएका राज बहादुर शाह, स्व. भुवनेश्वर अमात्य (मरणोपरान्त), निर्मल प्रधान, राजेन्द्र शाक्य, केदारनाथ पराजुली, कुबेर शर्मा, रामजी श्रेष्ठ, मोहन सराफ, किसन राठी, उत्तम द्वा र ध्रुव कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।
यस्तै, संघका कर्मचारी होतराज शर्मा र बिक्रम राईलाई नगदसहित सम्मान गरिएको छ। समारोहमा मुख्य प्रायोजक वरुण बेभरेज, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीज, खल्ती एप, होटल रोयल टुलिप र विवाईडीलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै, कार्यक्रम तयारी समितिका संयोजक गोपाल काजी कायस्थ र सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
त्यसैगरी, वैशाख १४ गते संघको सभा कक्षमा सम्पन्न ५०औँ साधारण सभामा महासचिव सुरेन्द्र कुमार थापा र कोषाध्यक्ष प्रज्वल शम्सेर जवराको प्रतिवेदन पारित गरिएको छ। सभाले तीन महिनाभित्र विधान अधिवेशन आह्वान गर्ने निर्णय पनि गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।