‘होस्टेल ३’ले रञ्जना हलमा मनायो ५१ दिन, कलाकार र टिमलाई सम्मान



काठमाडौं।
नेपाली चलचित्र ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औं दिन पूरा गरेको छ। गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले शनिबार ५१ दिन पूरा गरेको भए पनि विशेष कार्यक्रम सोमबार आयोजना गरिएको थियो।

निर्देशक सशान कँडेलका अनुसार विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा चलचित्र युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रमुख कलाकार पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँ सहभागी थिए। पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान भने अनुपस्थित रहे।

चलचित्रमा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि कार्यक्रममा सहभागी भए। उनले ‘होस्टेल ३’बाट नयाँ कलाकारहरूको पहिलो प्रयास सफल भएकोमा खुसी व्यक्त गरे। आफ्नो छोरा आशिष घिमिरेसमेत चलचित्रमा रहेको उल्लेख गर्दै उनले आफू भावुक बनेको बताए।

नयाँ पुस्ताका कलाकारहरूले पहिलो चलचित्रमै दर्शकको माया पाएको भन्दै आभार प्रकट गरे। उनीहरूले ‘होस्टेल ३’लाई आफ्नो अभिनय यात्राको ‘विश्वविद्यालय’ भएको भन्दै सिकाइ अमूल्य रहेको प्रतिक्रिया दिए।निर्देशक कँडेल, लेखक तथा सहायक निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले दर्शक र सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरे।

‘होस्टेल’ शृङ्खला नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारलाई स्थापित गराउने अभियानका रूपमा चिनिन्छ। तेस्रो शृङ्खला ‘होस्टेल ३’ले पनि सम्भावना बोकेका केही नयाँ अनुहारलाई चिनाएको छ।चलचित्रमा पारस बम, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको मुख्य भूमिका रहेको छ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन्। कार्यकारी निर्माता शंकर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.