काठमाडौ। नेपाली चलचित्र उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको चलचित्र ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा चलचित्र ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए ।
यस विशेष शोमा चलचित्रका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे । उनले भोजपुर, जहाँ पहिले चलचित्र हल थियो तर, विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरु हुनु गौरवको विषय रहेको बताए । निर्देशक चाम्सले भने, “चलचित्र हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो, र यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ ।”
‘आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा चलचित्रकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए । नगर प्रमुख आलेले चलचित्र ‘अञ्जिला’ जस्तो आशयपूर्ण फिल्म आफ्नो नगरपालिकामा प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अर्थपूर्ण चलचित्रको प्रदर्शनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, उनले राज्यले गर्नुपर्ने काम चलचित्र टिमले गरेको भन्दै एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट रु. ५०,००० नगद सहयोग गर्ने घोषणा पनि गरे । निर्देशक चाम्सले देशभरका स्थानीय सरकारबाट आफुले यस्तै प्रकृतिको सहयोग अपेक्षा गरेको जनाए ।
हाल ‘अञ्जिला’ सातौँ हप्तामा प्रवेश गरिसकेको छ । अहिले पनि काठमाडौं उपत्यकासहित देशभर गरी करिब ४० शोहरू जारी रहेका छन् । चलचित्र युनिटले वैशाख १९ गते चलचित्र प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेशन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
गत वर्षको अन्त्यतिर फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच चलचित्रको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ र वितरकका अनुसार यसको ग्रस व्यापार १० करोड नाघिसकेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित यो चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिका निर्वाह गरेकी छन् । निर्देशक चाम्सका अनुसार चलचित्रमा प्रस्तुत सङ्घर्ष र सपना हामी सबैको जीवनसँग कतै न कतै मिल्दो भएकाले दर्शकसँग भावनात्मक सम्बन्ध कायम गर्न सफल भएको छ ।
‘अञ्जिला’ मा एन्जिलाका अतिरिक्त प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।